प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

मुख्य समाचार राजनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटघाट चलिरहेको छ । शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र भेटवार्ता गरेका छन् ।

भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।

कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई नागरिक अगुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । नेकपाभित्र विग्रह सुरु भएपछि सत्ता सहयात्राका लागि भेटवार्ता भएको पनि भनिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा समूहसॅग साझेदारी गर्नसक्ने संभावनाका संकेतहरु देखापरेको बताएका छन् ।

उनले नेकपा भित्र लोकतन्त्रको सबालमा प्रचण्ड-माधव गुटभन्दा ओली गुट उदार हो कि भन्ने लागेको देखियो। तर विगत तीन वर्षमा लोकतन्त्रका मूल्यहरुमा ओली समूह र स्वयम् कॉग्रेस पनि चुकेको पनि दाहालले ट्वीटरमा लेखेका छन् ।

देउवासँग शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

यद्यपी, ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए । ओलीले देउवासँग संवैधानिक नियुक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, भागवण्डामा कुरा मिल्न सकेको छैन ।

Facebook Comments Box