एफएनजे मिडिया कप फुटसलको उपाधि न्यूज–२४ लाई

खेलकुद

पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्यूज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासङ्घ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्यूज २४ ले उपाधि जितेको हो ।

यसअघि सेमिफाइनलमा न्यूज–२४ ले पत्रकार महासङ्घ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४–१ ले हराएको थियो । विजेता न्यूज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पारेको हो । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो ।

प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्यूज २४ कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्यूज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हुँदा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कूल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद दुई हजार ५०० र ट्रफी हात पार्नुभएको थियो ।

प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न पुग्नुभएका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल भावनाअनुसार अघि बढ्न सबै खेलाडीलाई शुभकामना दिनुभयो । विजेता टिम र खेलाडीलाई पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, मुख्य प्रायोजक बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र प्रायोजक महालक्ष्मी विकास बैंकका मार्केटिङ विभाग प्रमुख अमित झालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

महासङ्घले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टिमको सहभागिता थियो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचारा अभिवृद्धि गर्न खेलकुद सशक्त माध्यम हुने भएकाले मिडिया कप फुटसल आयोजना गरिएको प्रतियोगिताका सहसंयोजक एवं महासङ्घ केन्द्रीय सदस्य विकास कार्कीले जानकारी दिनुभयो । बीमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता थिए । नेपाल बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका थिए ।

Facebook Comments Box