अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह

आर्थिक समाचार

अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु’ विषयक कार्यक्रममा वक्ताले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलङ्काको अवस्थामा पुग्ने चेतवानीसमेत दिएका छन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकाले मुलुक गम्भीर सङ्कटमा धकेलिएको बताउनुभयो । नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगतरूपमा भएका सेटिङ रोक्न र राष्ट्र बैंकमाथिको हस्तक्षेप रोक्न आग्रह गर्नुभयो ।

पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको उल्लेख गर्दै अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय हुनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्नेसमेत उहाँको सुझाव थियो ।

पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताउनुभयो । वैदेशिक कर्जाले सुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टीभन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । साथै उहाँले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

Facebook Comments Box