मलाई छाडेर मतदाताले अन्त मत देलान जस्तो लाग्दैन: दिनेश नापित

अन्तर्वार्ता-विचार

वडा अध्यक्ष पदका राप्रपा उम्मेद्वार
काठमाण्डौं महानगरपालिका, वडा नं. १२

तपाई राप्रपाको तर्फबाट काठमाण्डौं महानगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा उम्मेद्वार हुनुहुन्छ, यहाँको स्थिति कस्तो छ ?
राप्रपाको यस वडामा असाध्यै राम्रो छ । वडा नं. १२ का जनताले मलाई असाध्यै विश्वास गरेका छन् । पहिले देखि नै यस वडामा समाज सेवा गर्दै आएकाले यस पटक वडावासीले मलाई हेर्छाै भनिरहनु भएको छ । यसैले म अत्यन्त उत्साहित छु ।

तपाई यस वडामा जितेपछि के के राम्रा काम गर्नुहुन्छ ?

सबै भन्दा पहिले म यस वडामा विजयी भएपछि वडावासीको सल्लाह र सुझाव अनुसार काम गर्ने छु, यहाँका मठमन्दिर जिर्णाेदार तथा व्यवस्थित गर्न पहल गर्नेछु, यस वडामा दैनिक उपभोग्य वस्तुमा मुल्य निर्धारण गर्ने छु, यहाँ धेरै गुठी छन्, यि गुठियारसँग सल्लाह र समन्वय गरेर अघि बढ्ने छु, एक्लै काम गर्ने छैन, वडा नं. १२ को सम्पूर्ण वासिन्दाको घर घरमा धारा पु¥याउने छु, धारा नपुगेका स्थानीय वासिन्दाको घरमा ट्याङ्करबाट भएपनि पानी पु¥याउने छु, मेरो सबै तलब भत्ता असाहय वृद्ध वृद्धालाई र एकल महिलालाई दिनेछु ।

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष भएपछि देशव्यापी रुपमा राप्रपा प्रवेशको लहर छ, यस वडामा कस्तो छ ?

यस वडामा अन्त भन्दा बढी राप्रपा प्रवेशको लहर छ । त्यसैले म यस वडामा पहिला भन्दा बढी मत ल्याएर बिजय हुँदैछु ।

तपाईले जित्ने आधार के के हुन् ?

मैले जित्ने प्रमुख आधार भनेको मैले निरन्तर रुपमा गर्दै आएको समाजसेवा नै हो । भुइचालो आएको बेला भुइचालो पीडित जनतालाई राहत वितरण गरे, कोरोना पीडितलाई सक्रिय रुपमा सहयोग गरे । मैले जित्ने प्रमुख आधार भनेको राप्रपाका इमान्दार कार्यकर्ता, स्वतन्त्र मतदाता र अन्य पार्टीको कार्यकर्ता हुन् ।

नेपालमा ९० प्रतिशत हिन्दु छन्, तपाई कट्टर हिन्दुवादीलाई जनताले जिताउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

मलाई स्वतन्त्र तथा हिन्दुहरुको एकलौटी भोट आउँछ । म कट्टर हिन्दुवादी भएकाले मलाई छोडेर मतदाताले अन्त मत देलान जस्तो लाग्दैन । राजतन्त्र र हिन्दु धर्म राप्रपाको वटम लाइन भएकाले यहि एजेण्डाको पक्षमा जनताले मत हाल्दैछन् । मैले बेला बेलामा यस वडामा गणेशको मुर्ति राख्दै आएको छु । मलाई चिन्नेले हिन्दुवादी भनेर चिन्छन् । त्यसैले मैले जित्ने प्रमुख आधार यहि हो ।

जनप्रतिनिधिले जितेपछि पक्षपात गर्छन् भन्ने सुनिन्छ नि ?

अरुले के गरे मलाई थाहा छैन तर म यस वडामा जितेपछि सम्पूर्ण वासिन्दालाई यो पार्टी उ पार्टी नभनी स्वतन्त्र रुपमा काम गर्ने विश्वास दिलाउन चाहन्छु । म यस वडाका सम्पूर्ण वासिन्दाको चिरपरिचित वासिन्दा भएकाले मैले जितेपछि पक्षपात गर्ने कुरै हुँदैन ।

काठमाण्डौंको मुल समस्या फोहोर र खानेपानी हो, यो समस्या समाधान गर्न के के गर्नु हुन्छ ?

फोहोरलाई मोहरमा बदल्ने भिजन हामीसँग छ । १२ नं. वडाको फोहोरलाई सड्नेलाई कम्पोष्ट मल बनाउने, नसड्नेलाई पूनर प्रयोग गर्ने गरी व्यवस्था मिलाउने छौं घरघरमा धारा पु¥याउने छौं । धारा नभएका घरमा ट्याङ्कीमा ल्याएर भएपनि पानी वितरण गर्ने छौं । बजेटले भ्याएसम्म खानेपानी, फोहोर मैलाको सदाको लागि व्यवस्थापन गर्ने छौं ।

जनप्रतिनिधिले चुनावी वाचा विर्सन्छन् भनिन्छ नि ?

अन्य वडाको सन्दर्भमा थाहाछैन तर यस वडामा चुनावी क्रममा गरेको वाचा अनुसारै काम गर्नेछु । पहिले पनि निष्पक्ष भएर काम गर्दै आएको छु, मेरो वाचा खेर जान दिन्न ।

अन्तमा तपाईलाई मत दिन वडावासीलाई सन्देश दिनुुस् न ?

यस पटक हलोमा मतदान गरी मलाई अत्याधिक मत दिएर विजयी गराएर जनसेवा गर्ने मौका दिनुस् । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक रुपैयाँ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्नु भएको छ, म यहि विचारमा सहमत छु, म पनि यहि विचारबाट चल्ने छु । यस पटक मलाई जिताएर तपाईहरुको सेवा गर्ने मौका दिनु हुन सविनय अनुरोध गर्दछु ।

Facebook Comments Box