सर्लाहीका तीन स्थानीय निकायको मतगणना सम्पन्न

मुख्य समाचार राजनीति

सर्लाहीको रामनगर गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का राजाबाबु यादव निर्वाचित हुनुभएको छ । वैशाख ३० मा भएको स्थानीय निकायको निर्वाचन २०७९ मा जिल्लाको रामनगर गाउँपालिकाबाट सर्लाहीकै सबैभन्दा कान्छा उम्मेदवार यादव एक हजार ६८९ मतान्तरले विजयी हुनुभएको हो ।

यादवले चार हजार ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिनन्द यादवले दुई हजार ३९२ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा पनि नेकपा (माओवादी केन्द्र)कै गीतादेवी ८९६ मतान्तरले विजयी हुनुभएको छ । उहाँले तीन हजार ५२३ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कौशलीया साहले दुई हजार ६२७ मत प्राप्त गर्नुभएको छ ।

यता जिल्लाको धनकौल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय निकाय रहेको सर्लाहीमा नेपाली कांग्रेसले पालिकातर्फ पहिलो खाता खोलेको हो ।

धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । उहाँले चार हजार ४७७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार फकिरा महतोले तीन हजार ३७८ मत ल्याउनु भएको थियो । निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहनु भएका साहले एक हजार ९९ मतान्तरले महतोलाई पराजित गर्दै दोस्रो कार्याकालका लागि जित निकाल्नु भएको हो ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार गाउँपालिकाको निवर्तमान उपाध्यक्षसमेत रहनुभएकी अकली सहनी चार हजार ५०४ मतका साथ विजयी हुनुभएको हो । सातवटा वडा रहेको धनकौल गाउँपालिकाको १, २, ४ र ७ मा कांग्रेस, ५ र ६ मा माओवादी केन्द्र तथा ३ नम्बर वडामा नेकपा(एमाले)का वडाध्यक्ष विजयी भएका छन् ।

जिल्लाको हरिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार गोपाल पञ्जियार छ हजार हजार ९३८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । यस्तै, उपप्रमुख पदमा पनि कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव पाँच हजार ५८३ मतका साथ विजयी हुनुभएको छ ।

विजयी हुनुभएका पञ्जियारले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुनिलकुमार बुढाथोकीलाई तीन हजार ५१ मतान्तरले पराजित गर्नुभएको हो । माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीले तीन हजार ८८७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उप प्रमुख पदमा निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)की शिला कार्कीले चार हजार ७६ मत प्राप्त गर्नुभयो ।

विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा हरिपुर नगरपालिकामा नेकपा (एमाले)ले जितेको थियो । पार्टीमा विभाजन आएसँगै नेकपा (एकीकृत समाजवादी)मा गएका निवर्तमान नगर प्रमुख जमिरुद्दिन मन्सुरले दुई हजार ८०५ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments Box