छोरा ! अब यो देश छोडेर जा ।

साहित्य

सरोज नेपाल
छोरा ! अब यो देश
न त तेरो , न त मेरो ।
हेर बाबु!
यो देश साच्चिकै देश हुन त
छुट्टै दृष्टि चाहिन्छ ।
नयाँ सृष्टि चाहिन्छ ।
त्यसैले यो माटो छोडेर जा । निकै टा …ढा जा
स्कुल कलेजको किताव पढिस ,
वेद पुराण उपनिषद् रामायण महाभारत पढिस।
आमाको तिलहरी बेचेर इतिहास भूगोल , दर्शन , राजनीति , मार्क्स एङ्गेल्स लेनिन स्टालिन , हिटलर, लिङ्कन , लुथर नेपोलियन , लुइ, मान्टेस्क्यु, दिदेरो, फ्रान्सेली राज्य क्रान्ति , अमेरिकी स्वतन्त्रता सङ्राम , रक्तहिन क्रान्ती आदी सबै पढिस्
तर त्यसको सार,
मान्छे हुनुको अर्थ,
जीवनको सार्थकता पढिस ?
अहँ तँ पनि मै जस्तै उल्लु होस् ।
केवल किताव मात्रै पढ्दै गरिस
अहिले रनभुल्ल परिस ।
त्यसैले केटा !
अब किताव होइन
मान्छे पढ , समय पढ ।
आफ्नै देशमा रामको भेष गरेका रावणहरूको चरित्र पढ ।
यिनको छुद्र स्वार्थ बिपरित निर्णय हुँदा षड्यन्त्रमा परेका सर्वोच्च अदालतका श्रीमानहरूसङ्ग न्याय र कानून पढ ।
यिनैलाई कमिसन घिचाउन उहिल्यै हतियार किन्दा जेल परेका आइजीपीहरू सङ्ग बिधि नियम र पद्धति पढ । एन सेल , ओम्नी , यति जस्तै थुप्रै काण्ड पढ ।
ति किताबका ठेली सबै डढाइदे
त्यो ढाँड हटाइदे।
मेरो सुत्ने ठाउँ खाली गराइदे ।
अस्ती भन्थिस नि ,
हेर बा ! निराश नहोउ
अब बालेनले गर्छ , हर्केले गर्छ ।
अनि तिनैको सिको देशैभरी सर्छ ।
तर छोरा !
तिनिहरुलाई पनि अरुले
गर्न दिए पो गर्छन ,
तेरो बालेन र हर्के
यि मुलुकमाराहरूको को पर्छन?
हेर्दै जा बाबु ! एकदिन,
तेरो बालेन ब्रो पनि
दिक्कवाक्क भएर पलायन हुन्छ
तेरो हर्के दाइ
धरानको गल्लीमा एक्लै रुन्छ ।
ति भर्खरै उम्रेका कलिला बिरुवाले के गर्छन् ?
लेखेरै राख ,
चारैतिर फैलिएका बिषालु झुसिल्किरा र खुम्रेका थुप्रै प्रजाति छन् , तिनैले चुसेरै यि बिरुवा मर्छन् ।
नयाँ बिचारको सम्बाहक र देशप्रेमी को टिकेको छ यहाँ ?
भिमसेन सेरिएकै हो , तुरुन्तै शासन फेरिएकै हो ।
भिममल्ल र बहादुर शाह काटिएकै हो , हरेकपटक स्वार्थसङ्ग सत्ता साटिएकै हो । सयौं सयौ पल्ट यस्ता घटना दोहोरिएकै छ ।
बिगत पढ ,सवै छर्लङ्ग हुन्छ ।
राजा होस कि रैती
ठानेदार होस कि कैदी
जसले केहि नयाँ सोच्छ
कि मासिन्छ कि भासिन्छ ।
तँ पनि कहिले घामले सुकेर चेप्टो परेकै होस् ।
कहिले हथौड़ाले ठोकिएर नेप्टो परेकै होस्
अब त हुन , भोग्न , बेहोर्न के बाकी छ र ?
त्यसैले बाबु !
बिन्ती छ तँ अब यहाँ नबस, गैहाल । बेच्न मिल्ने अरु के नै छ र ?
मेरो किड्नी बेचेरै भए पनि गैहाल ।
समाचार सुनिस् ?
एक लाखको राहत बाड्न हेलिकप्टर भाडा २८ लाख ।
बजेट बनाउँदा उसैको साम्सद, उसैको चन्दादाता पोसेको , हाम्रो अधिकार खोसेको । करको आगोले हामीलाई झोसेको । बजेट बनाउन मध्यरातमा उसैको मान्छे हुलेको, सिसिटिभि रेकर्ड जोगाउन भुलेको , यस्ता त कति हो कति
भनिसाध्य न गनिसाध्य ।
देश श्रीलंका बन्दैछ रे ।
तेरै इष्टदेवले भनेको सुनिस ?
आहा !
हाम्रो पनि वरीपरी समुद्र हुने भो भन्दै दङ्ग पर्लास नि फेरी ,
जब नेपाल श्रीलंका बन्छ
एउटा कुरा भने ठ्याक्कै मिल्छ ।
त्यहाँ वरिपरि समुद्रको पानी
यहाँ आँशुको
दुबै नुनिलो ।
तर केटा ! नेपाल श्रीलंका बनेको दिन
तँसङ्ग चेतना जगाउने कलम हुनेछैन ।
सरकारले फोर्दिएको तेरो टाउकोमा लगाउने मलम हुने छैन ।
अनि किन बस्छस यहाँ ?
फेरी ठुलो कमिसनको लागी हतियार किन्दै छन रे ।
किन थाह छ ?
देशले थप ऋण बोक्न ।
कमिसन घिच्न धोक्न ।
धेरै चासो राखिस भने
तेरो टाउकोमै ठोक्न ।
त्यसैले गैहाल बाबु
नबस अब गैहाल ।
अस्तिनै
तेरै आस्थापुन्ज ,
बालुवाटारमा धामी बालकोटमा बोक्सी बनेको देखिनस ?
बुढानिलकण्ठको पानी बालुवाटारमा
रक्सी बनेको देखिनस ?
मातेर दिउँसै उँघेको देखिनस ?
हाम्रो आत्मसम्मान प्रतिष्ठा र स्वाभिमान विश्वसामु राल चुहाउँदै नुघेको देखिनस ?
अब पनि के को आशाले बस्छस ?
फेरी सोच्छस होला
हाम्रो पनि आउला पालो ,
ढुक्क बन आउदैन ।
यिनैलाई पुग्याछैन ,
अरुले पालै पाउँदैन ।
यि मरेपछि छोराछोरी नातागोताको पालो
फेरी नाति नातिनाको पालो
तँ त म उल्लुको छोरो !
यिनीहरूको न त भदा न त सालो ।
अशल कर्म गरे भगवानले देख्छन्
ढिलो चाँडो जनताले बुझ्छन्
यश किर्ति रहला , मेरो पनि शालिक बन्ला भन्लास नि ।
आजकल शालिक बन्न असल कर्म गर्नै पर्छ भन्ने छैन , नियम फेरियो । मात्रै एउटीसङ्ग घरजम गर्न पनि डराउने , पेयको नाममा कोक सम्म पनि मन नपराउने तेरो बन्छ शालिक ?
भो आशै नगर ।
हाम्रै माटोमा चेतनाको दियोबाल्ने बिपी, गणेशमान , पुष्प लाल, मदन ,आश्रीत आदीलाई उनका परिवार बाहेक अरु कसले सम्झिन्छ अब ?
भो अब दिन दुखी, ज्यामी भरियाको
अधिकारको कुरा नगर ।
कृषक र गोठालाको कुरा नगर , भ्रष्टाचार र घोटालाको हिसाव नखोज , खर्बौको हिसाब हुन्छ जोड्नै जान्दैनस ।
लुट र झुटको यथार्थ पार्श्वचित्र गीतबाट छरपस्ट गराइदिदा पशुपति शर्मा र प्रकाश सपुतको बिरुद्धमा राज्यशक्ति खनिएको बिर्सिस ?
त्यसैले छोरा !
भो ति भ्रष्ट पातकी र पिचासको पछि जति हिडिस हिडिस
म पनि त हिँडेकै हो
तेरो मात्रै दोष हैन ,
बेलैमा सजग नगराउने मै उल्लु हो ।
अब त आँखा खोल केटा ।
तँ जति उफ्रेपनि , जति कराए पनि
तेरो बिचार कसैले सुन्दैन
एक्लो बृहस्पति बन्छु नभन ,
होस पुर्या बाबु ! बेलैमा ।
उहिल्यै बमको धुवाँमा शान्ती खोज्न गएको तेरो दाइ लापता छ बिर्सिस ?
शरीरभरी छर्‍रा र गोलीको निशान लिएकी तेरी दिदी गल्लीमा साग बेच्छे , केवल मर्न नसकेर मात्र, बिर्सिस ?
त्यसैले बाबु !
तँ यहाँ बसिस भने फेरी
अधिकारको कुरा गर्लास
अन्याय अत्याचारको कुरा गर्लास
अनि , यिनै मुलुकमाराहरुको
षड्यन्त्रमा पर्लास
यस्तो भए
तेरीआमा अर्को गङ्गामाया बन्न सक्छे ।
मलाई,थुक्क नामर्द !
खै मेरो कान्छो ?
भन्न सक्छे ।
त्यसैले छोरा बिन्ती यो देश छोडेर गैहाल ।
आफ्नो फाइदाको लागी
छिनमै पुरुष , छिनमै महिला बन्न जान्दैनस ,
ओहो ! मेरो हजुर भनेर चाकरीको शब्द भन्न जान्दैनस ,
कालोलाइ गोरो , रातोलाई सेतो भन्न सक्दैनस ।
त्यसैले
अन्धाको देशमा अन्धा
लङ्गडाको देशमा लङ्गडा
बन्न नसक्ने
दानवलाई देव
भन्न नसक्ने
तँ जस्ताको यहाँ कामै छैन ।
एउटा नागरिकताको प्रमाणपत्र मात्रै त छ तँ सङ्ग ।
तर ,नागरिक हुनुको
सम्मान छ ?
अधिकार छ ? गरिमा छ ? त्यो खोस्टोले
भेट भरिन्छ ?
आखिर यहि पाराले त ढिलो चाँडो अनागरिक बन्ने छस ।
भोक भोकै मर्नु भन्दा , अनागरिक नै बन्नु परे नि
काम गरेर बाच्न पाउने देशमा जा ।
ए छोरा ! बाँचे पो जिन्दगी ।
म त मध्यरातको जुन जस्तै हो
ढिलो चाँडो अस्ताउने छु,
सकेसम्म यो नङ्गानाच
यो बेथिति सहुँला , पेलिउँला ।
सहन नसके त्रिवेणीमा हेलिउँला ।
तर छोरा !
तँ त बिहानीको कलिलो सुर्य होस्
तेरो त समय छ ।
छिटोभन्दा छिटो जा ।
मेरो र तेरी आमाको एकुन्टा किड्नी बेचेर जा या मलाई बन्धकी राखेर जा । अरु त बेच्ने कुरै के बाकी छ र ?
जे गरेर हुन्छ छिटो जा
सधैंभरीलाई माया मारेर जा । कहिल्यै नफर्कने गरी जा ।

Facebook Comments Box