प्रार्थना भगवान शिवसित

साहित्य

नमस्कार समस्त सुजनलाई !
आजको शृङ्खलामा चाहिँ अलिक पृथक विषय लिएर आएँ । साउन महिनामा शिवको उपासना गर्नु भन्छन् । स्तुति गर्नु भन्छन् । पूजाआजा गरेर प्रार्थना गर्नु भन्छन् । त्यसैले मैले उनीसित प्रार्थना गरेको छु । वर मागेको छु । याचना गरेको छु । उनी आशुतोष भएकाले मागेको कुरा झट्टै दिइहाल्छन् भन्ने विश्वास छ । मेरो स्तुति मन परो भने तपाईं पनि यसै गरी प्रार्थना गर्नुहोस् ।
मैले यसरी वर मागेको छु :-
हे शम्भू ! म हिमवत्खण्ड निवासी हुँ । तिम्रो शैल राजप्रासादको आँगन नै मेरो देश हो । नेपाल भन्ने मुलुक मेरो मुटु हो । शान हो । मान हो । सर्वस्व हो । भक्तले गरेको प्रार्थना सुन्नुहोस् । तिमी महा शक्तिशाली छौ । तेजस्वी छौ । प्रतापी छौ ! शूरवीर छौ । तिमीले नजानेको, नदेखेको, गर्न नसकेको के पो छ र ! तिमी सर्वशक्तिमान छौ ।
हे नीलकण्ठ ! भर्खरै मेरो देशमा एउटा चुनाउ सकियो । जित्नेले जिते हार्नेले हारे । जित्नेले त जितिहाले । कुर्सीमा आरुढ भइहाले ! खेलोफड्कोमा लागिहाले ! विचरा हार्नेको मन कुँडिएको छ । अमिलिएको छ । चुनाउको रिनले `दिन उठ् न राति सुत्´ पारेको छ । किनभने हाम्रो निर्वाचन प्रणाली महङ्गो भयो । पैसा नहुनेले जित्न मुस्किल पर्ने भो । चुनाउमा दलबाट उठ्न `टिकट´ भनिने जिनिस हुन्छ । त्यो हात पार्न `बिस्नेकी स्वास्नी´चाहिने भो ! चुनाव अवधिभर पैसाकै मात्रै खेलो चल्छ । बियरका बोतलबाट गजज फिज ननिकाली हुँदैन । ब्रान्डी, ह्विस्की, सेतो लेबल, रातो लेबल, भोड्का, वाइन, खोयाबिर्के नउघारी भएन । छ्याङ निगार नछानी भएन । सुकुटी कुटुक कुटुक, तोङ्बाको पाइप सुरुप सुरुप नचुसी भएन । खसी नछप्क्याइ भएन । राँगा नढाली भएन ! सुँगुर नरोपी भएन । पोखरीका माछा ननिकाली भएन । सेता पखेटा भएका घरपालुवा चराको को त के गन्ती भो र ! कति हो कति ! नभुत्ल्याइ भएन ।
हे शङ्कर ! त्यति मात्रै कहाँ हो र ! जसलाई पनि नमस्कार गरेको गरै हिँड्नुपर्छ । आश्वासनका पोका बाँडेको बाँडै गर्नुपर्छ । दिउँसो दिउँसो आमसभा रातिराति `डिस्ट्रिव्युसन अफ खाम- समा´ को अभियान चलाउनै पर्छ ।
हे नीलकण्ठ ! अब यस किसिमको चुनाव प्रणाली बदल्नु परो । अधिक खर्च गर्नु परेकाले विकृतिहरू बढेर जान थालेका छन् । जतिजति धेरै चुनावमा खर्च हुन्छ त्यतित्यति भ्रष्टाचार बढेर जान्छ । यसलाई मुलुकले धान्न सक्दैन । तिम्रो दिव्यदृष्टि परो भने चेन्ज हुन सक्छ । अत: यो खर्चालु चुनावलाई कुनै अचुक उपाय लगाएर बदलिदेउ । म विनम्र अनुरोध गर्छु ।
हे शङ्कर ! यो नैपाल भन्ने देशका मान्छे कृषिमा आश्रित छन् । कृषि व्यावसायिक बन्न सकोस् । निर्बाहमुखी मात्र नहोस् । समयमा किसानले मल पाऊन् । उचित बिउ पाऊन् । आधुनिक कृषि औजार कृषकका हातमा पुगून् । सिँचाई सुविधा पर्याप्त मात्रामा होस् । कृषि अनुदान टाठाबाठाका पोल्टामा मात्र नपरोस् । वास्तविक किसानले पाऊन् ! तरकारी, फलफुल तथा अन्नहरू आयात गर्नुनपरोस् । आफ्नै देशको उत्पादनले खान लाउन पुगोस् । आयात प्रतिस्थापन गर्ने उपायहरू प्रभावकारी बनून् । खाद्यवस्तुहरूमा आत्मनिर्भरता बढ्दै जाओस् प्रभु !


हे महादेव ! नेपालका समस्त युवाहरू यहीँ रहून् । उनीहरूलाई काम मिलोस् । दाम मिलोस् । स्वाभिमान कायम रहोस् । राष्ट्रियतामा कतै कहीँ आँच नआओस् । उनीहरूकको आत्मबल प्रबल हुँदै जाओस् । धूमपान, मद्यपान गर्ने कुलतले नछोओस् ! लागुऔषधको प्रयोग कसैले नगरोस् । युवाहरू मितव्ययी बनून् । मिहिनेती र युगद्रष्टा बनून् । प्रतिभा पलायन हुने क्रम रोकियोस् प्रभु !
हे वैद्यनाथ ! नेपालका सम्पदा नेपालीका हितमा मात्र प्रयोग होस् ! विदेशीहरूको कुदृष्टि नपरोस् । जल, जङ्गल, जमिन, जडीबुटी सबैको समुचित सदुपयोग होस् । संरक्षण होस् । पर्यावरणमा स्वच्छ बनोस् । प्राकृतिक सौन्दर्य अनुपम बनोस् । जलीय, थलीय र आकासीय पशुपङ्छीहरूको क्रिडास्थल बनोस् । हिमाल, पहाड र तराई हरेक फाँटफाँटहरू स्वच्छताका पर्याय बनून् प्रभु !
हे भोलेनाथ ! यस हिमवत्खण्ड नेपालको हालको प्रमुख रोग भनेको भ्रष्टाचार हो ! सबै क्षेत्रमा भ्रष्टाचार मौलाएको छ । राजनीति, शिक्षा, स्वास्थ्य,यातायात, निर्माण, प्रशासन, न्याय, सामाजिक जीवन सबैमा भ्रष्टाचारले छपक्कै छोपेको छ । मान्छेमा नैतिकता इमान्दारिता सदासयता हराउँदै गएको छ । प्रभुको कृपादृष्टिले भष्टाचारीहरू निर्मूल पारियून् । तिम्रा तेस्रा आँखाबाट यस्तो ज्योति निस्कियोस् कि नियम विपरित काम गर्ने अपराधीहरूलाई ह्वारह्वार्ती जलाओस् । राजनीति गर्नेले कहिल्यै नजितून् ! उपचारमा वेवास्ता गर्ने चिकित्सकलाई रोग लागोस् ! नपढाउने शिक्षकको भलो नहोस् । गुणस्तरहिन काम गर्ने ठेकदारको हातै भँचियोस् । त्यो अख्तियार भन्नेलाई अति शक्ति भरिदेऊ सरकार ताकि उसले भ्रष्ट आचार भएकालाई प्रक्रिँदै लाँदै थुन्दै गरोस् । खाएको जति सबै छदाओस् । त्यसको दोब्बर तिराओस् प्रभु !
हे पशुपतिनाथ ! सबै धर्म समान छन् भन्ने भावना सबैमा जागृत हो । सबै मान्छे समान छन् भन्ने भावना विकास होस् । मान्छेले मान्छेलाई मान्छेका आँखाले हेरोस् । सर्वत्र मङ्गल होस् प्रभु !
एस निरौला
थुदुगापा 3
मैकुबेसी, सोलुखुम्बु ।

Facebook Comments Box