जनताले अब त राजा आए हुन्थ्यो भनिरहेका छन्

अन्तर्वार्ता-विचार

सविन कुमार खड्का
क्षेत्रीय अध्यक्ष, राप्रपा, ललितपुर क्षेत्र नं. ३
मुलुकको वर्तमान अवस्थालाई कसरी लिनुभएको छ ?
मुलुकको वर्तमान अवस्था अस्तव्यस्त छ । प्रमुख दलहरुको क्रियाकलापले मुलुक अद्योपतितर्फ गइरहेको छ । जनताले बाहिर भन्न नसके पनि राजतन्त्र हटेपछि जनताले पीडा बोध गरिरहेका छन् । बाहिर नभने पनि राजतन्त्रको पक्षमा अत्याधिक जनता छन् ।
मुलुकको लागि राजसंस्था किन आवश्यक छ ?
६२÷६३ को आन्दोलनपछि जनताले जुन अपेक्षा गरेका थिए, त्यो अपेक्षा अनुसार काम नभएको हुनाले, हाल संघ प्रदेश असफल भएका कारण देशले जनताले धान्नै नसक्ने अवस्थामा पुगेकाले जनताले फेरि राजसंस्था चाहेका हुन् । विभिन्न सभा सम्मेलन, जुलुस गरेर जनताले राजसंस्थाको माग गरिरहेका छन् । ठुला हुने खानेको त कुरा छाडौं, साना काम गरेर गुजारा चलाई रहेका जनताले अब त राजा आए हुन्थ्यो भनिरहेका छन्, यो स्वभाविक पनि छ । त्यसैले ढिला होला नेपालमा फेरि राजसंस्था पुनस्थापित हुन्छ । यो गणतन्त्र खारेज गर्न पनि राजसंस्थाको आवश्यकता भएको हो ।
हिन्दु धर्म पूनस्थापित गर्न तपाईहरु के के गर्दै हुनुहुन्छ ?
नेपालमा ९० प्रतिशत हिन्दु छन् । विगतमा विदेशीहरुको लहलहैमा धर्मनिरपेक्षता लादिएको हो । गाउँ–गाउँमा गएर बुझे हुन्छ, अधिकांश जनता हिन्दु धर्मकै पक्षमा छन्, त्यसैले राजसंस्था पूनस्थापित भए सँगै हिन्दु धर्म पनि पूनस्थापित हुने छ । राप्रपा यहि लाइनमा अघि बढिरहेको छ । यहि एजेण्डामा राप्रपाले निरन्तर रुपमा आन्दोलन गरिरहेको छ । यो आन्दोलन र संघर्षलाई अझ तीव्र बनाउनु पर्छ भन्ने मलाई लाग्छ । जब हिन्दु धर्म पूनस्थापित हुन्छ तब बहुमत जनताको भावना प्रतिनिधित्व हुनेछ ।
नागरिकता विधेयकलाई कसरी लिनु भयो ?
जनताको भावना विपरित ल्याइएको नागरिकता विधेयक संसदबाट पारित गर्नु मुलुककै लागि दुर्भाग्य हो ।
आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको कस्तो तयारी गरिरहनु भएको छ ?
म यस पटक प्रतिनिधि सभामा ललितपुर क्षेत्र नं. ३ बाट उठ्दैछु । यसको लागि आन्तरिक तयारी गरिरहेको छ । पार्टी नेता, कार्यकर्ता, शुभेच्छुकहरुसहित आम जनतासँग राय सल्लाह लिइरहेको छु । मलाई लाग्छ आम जनताले परिवर्तन चाहेका कारणले ललितपुर क्षेत्र नं. ३ मा मलाई रोज्नु हुनेछ भन्ने विश्वास लिएको छु ।
तपाई त जित्नु होला त देशको अवस्था भने कस्तो रहला ?
राम्रो प्रश्न गर्नुभयो । देशै भरका जनताले यस पटक अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व गरेको राप्रपालाई जिताउँछौ भनिरहेका छन् । संवैधानिक र हिन्दु राज्य मान्ने आम जनताको मत राप्रपालाई आउने विश्वास लिएका छौं । मलाई लाग्छ यस पटक राप्रपा जित्यो, जित्यौं । यहि उत्साह लिएर राप्रपाका नेतादेखि कार्यकर्ता सम्म अब परिचालित हुनुपर्छ । जनतामाझ नै नगए त कसरी जितिन्छ ? राम्रा उम्मेदवार उठाएमा नजित्ने प्रश्नै छैन । राप्रपाले जिते मात्र देशको उन्नती प्रगती हुनेछ ।
अन्तमा देशवासीलाई तपाईको सन्देश दिनुस् न ?
यस पटक संघ र प्रदेशमा राप्रपालाई जिताउनु होस् । तपाईको मतले र तपाईहरुले दिनु भएको मतले राप्रपा जित्दैछ । राप्रपा जित्नु भनेकै संवैधानिक राजतन्त्र र हिन्दु राज्यका एजेण्डा बलियो हुनु हो । राप्रपाले बोकेको यहि एजेण्डा बलियो हुनु हो । राप्रपाको जितेमा जनतालाई दुःख हुने छैन, यहि कुरा बुझेर राप्रपालाई जिताउनु होला, यहि मेरो सविनय आग्रह छ ।

Facebook Comments Box