निर्यात प्रवद्र्धनमा जोड दिन चेम्बरको आग्रह

आर्थिक मुख्य समाचार समाचार

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवद्र्धनमा जोड दिन सरकारलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज उद्योग सचिव डा तोयनारायण ज्ञवालीलाई भेटेर निर्यात प्रवद्र्धनलाई जोड दिएर बढ्दो व्यापार घाटालाई कम गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गर्नुभयो । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सीप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लको भनाइ थियो । “विदेशमा सिकेको सीप र लगानी हाम्रा उद्योगमा प्रवद्र्धन गर्न सकियो भने कहालीलाग्दो व्यापार घाटा कम गर्न सकिन्छ, यसका लागि सरकारसँग हातेमालो गर्न नेपाल चेम्बर अफ कमर्स तयार छ”, उहाँले भन्नुभयो ।

उहाँले औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल ब्याजदरको व्यवस्था कायम गर्न आग्रह गर्नुभयो । रु १० करोड बराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवद्र्धन गर्न सकिने बताउनुभयो । अध्यक्ष मल्लले मुख्य–मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुको निर्यातमा पटक पटक समस्या आउने गरेको बताउनुभयो ।

भेटका क्रममा उद्योग सचिव डा ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताउनुभयो । विदेशबाट फर्किएका युवाहरुको सीप र लगानी प्रवद्र्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । वार्षिक रु नौ खर्ब बराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको उहाँको भनाइ थियो ।

Facebook Comments Box