सुरजपुरा काण्ड जहाँ यादवनाथ आलोक सहिद भए

अन्तर्वार्ता-विचार राजनीति
गोपाल गिरी

आज भन्दा ४० वर्ष अगाडि नेपालको राजनीतिक इतिहासमा एउटा ठूलो त्रासदिपूर्ण आतंकपूर्ण बर्बर घटना घटेको थियो । २०४० साल फागुन २० गते रुपन्देही जिल्लाको सुरजपुरामा नेपाली कांग्रेस रुपन्देहीका तत्कालीन सभापति पुष्पानन्द गिरीको घरमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा तेसबेलाका पञ्चायती शासक र तत्कालीन मन्त्री दिपक बोहोरा र लुम्बिनी अञ्लाधीसको ठाडो निर्देशनमा नाङ्गो किसिमले सांघातिक आक्रमण गरेका गरिएको थियो । नेपालको राजनीतिक इतिहासमा त्यो एउटा कालो दिन थियो । जसलाई अहिले पनि सुरजपुरा काण्डको रुपमा प्रसिद्ध छ । उक्त कार्यक्रमको रुपरेखा घटना भन्दा झण्डै तीन महिना पहिले गिरिजाप्रसादको आह्वान र आदेशमा तय भएको थियो । सो कुराको शुरुदेखि नै म अवगत र जानकार व्यक्ति हुँ । रुपन्देहीको कार्यक्रमका बारेमा म काठमाडौंबाट रुपन्देही गई तेसबेलाका सभापति कुशल संगठन कर्ता निर्भिक व्यक्तित्व, निष्ठावान नेता पुष्पानन्द गिरी र नेकां रुपन्देहीका तत्कालीन सचिव रामकृष्ण ताम्राकारलाई अवगत गराई गिरिजाबाबुको पत्र दिएको थिएँ । सोही अनुसार कार्यक्रम तय गरिएको थियो । तर चितवनको कार्यक्रम सकिएर नवलपरासी जिल्लाको बैद्यौली नन्दलाल मिश्रको घर कम्पाउण्डमा भएको कार्यक्रम पछि नवलपरासीको अघ्र्यौलीमा भएको कार्यक्रममा पञ्चायती शासकको निर्देशनमा प्रहरीबाट कार्यक्रममा लाठिचार्ज हुँदा तत्कालीन महामन्त्री गिरिजाप्रसाद लगायत सैयौं कार्यकर्ता घाइते भएको र गिरिजाप्रसादको पाइताला समेत फ्याक्चर भएको हुँदा नवलपरासीको बाँकी कार्यक्रम र रुपन्देही जिल्लाको कार्यक्रम एक महिनापछि सरेर फागुन २० गते सुरजपुरा रुपन्देहीमा गर्ने तय गरिएको थियो ।

चितवन र नवलपरासीको कार्यक्रम पछि उक्त समयमा म रुपन्देही जिल्लामा नै फागुन २० गतेदेखि शुरुहुने रुपन्देहीका विभिन्न कार्यक्रमको तयारीको शिलसिलामा रुपन्देहीमा नै थिएँ । सभापति पुष्पानन्द गिरी, सचिव रामकृष्ण ताम्राकार, म आफू गोपाल गिरी र रुपन्देहीका तत्कालीन नेता नारायणदास चौधरी, बाबुराम राना, मोहदत्त काफ्ले, रामचन्द्र ढकाल, डिल्लीरमण शर्मा लगायतका नेतासँग छलफल गर्ने काम भएको थियो । कार्यक्रमकै सन्दर्भमा हामी तिनजना पुष्पानन्द गिरी, म गोपाल गिरी र नारायणदास चौधरी नेपालको चम्मलघाँटी भनेर चिनिने मर्चवार क्षेत्रमा पहिलो चोटी पुग्यौं र त्यहाँका पुराना कांग्रेसका नेताहरुलाई गोप्यरुपमा भेटी कार्यक्रमको बारेमा अवगत गरायौं ।

अब म उक्त सुरजपुरा काण्डको पृष्ठभूमि र कसरी उक्त आक्रमण भयो सविस्तार चर्चा गर्ने छु । नेपाली जनतालाई दासता, भय, त्रास र गरिबीबाट मुक्ति दिलाउन र राष्ट्रको मालिक जनतालाई बनाउनको लागि जननायक वीपी कोइरालाको आह्वान र नेतृत्वमा स्थापित पार्टी नेपाली कांग्रेस हो । वीपीको एक अपिलमा आफ्नो जीवन उत्सर्ग गर्न जेल, नेल र हण्डर दुख खेप्ने तथा मृत्यु वरण गर्न समेत तयार युवा नेपालमा हजारौं थिए । राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको घाँट निमोठी जननिर्वाचित प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्री मण्डल राजनीतिक नेता कार्यकर्तालाई बन्दक बनाई जेल हाले र प्रजातन्त्रको अपहरणा गरे । २०२५ सालमा अन्तर्राष्ट्रिय दबाब र अन्य विविध कारणबाट वीपी लागायतका नेताहरुलाई जेल मुक्त गरियो । वीपी कोइराला जनताको खोसिएका हकअधिकार पुनस्थापित गराउन आफ्ना सहयोगी नेता गणेशमान सिंह सहित प्रवासमा वनारस गई सशस्त्र क्रान्तिको आह्वान गरी नेपाल भित्र र बाहिर रहेका तरुण युवालाई परिचालन गरिरहेको अवस्थामा दक्षिण एशियामा राजनीतिक संकट मडारिइरहेको र नेपाल पनि यसबाट अछुतो नरहने कुरालाई मनन् गरी राष्ट्र बचाउने कुरा पहिलो कर्तव्य ठानी सशस्त्र क्रान्ति स्थगित गर्दै २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भयो । त्यसैको फलस्वरुप २०३५÷३६ सालमा विविध माग राखि विद्यार्थी आन्दोलन शुरुभयो । आन्दोलनले चरम रुपलिए पछि वीपीसँग परामर्श गरेर राजा विरेन्द्रले २०३६ साल जेठ १० जनमत संग्रहको घोषणा गरे ।

पञ्चायती सरकारको विभिन्न हथकण्डा र धाँधलीका बबजुत नेपाली कांग्रेस अर्थात् बहुदलको पक्षमा २० लाख र सुधारीएको पञ्चायती व्यवस्थाको पक्षमा २४ लाख मत प¥यो । जे–जस्तो अवस्थामा पञ्चायतले जीत हासिल गरेता पनि एउटा खुल्ला प्रजातान्त्रिक अभ्यास मानेर वीपीले विनाशर्त जनमत संग्रहको निर्णय स्वीकार गर्नुभयो । त्यसपछि अब के गर्ने भनी वीपी नेपालका सवै पाँच विकस क्षेत्रमा कार्यकर्ता र जनताको जनभावना बुझ्न विभिन्न ठाउँमा आमसभा गरी कार्यकर्ता भेटघाट गर्नुभयो । त्यसको निचोडमा अझै पनि जनताका खोसिएका जनताको हक–अधिकार अपूर्ण रहेको ठहर गरी काठमाडौंको टुंडिखेल खुल्लामञ्चबाट सुधारिएको पञ्चायती आम चुनाव बहिष्कार गर्न अपिल गर्नुभयो । त्यसपछि वीपी कोइरालाई क्यानसर जस्तो प्राण घातक रोगले आक्रान्त पार्दै लग्यो । २०३९ साल साउन ६ गते उहाँको निधन भयो । उहाँको मृत्युको समाचारले सारा जनता निरास भए ।

वीपीको निधन पछि अब उहाँ पछिको नेपाल र नेपालीको अवस्था कस्तो हुने हो भन्ने चिन्तामा परे । देहावसान अघि नै वीपीले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसााद कोइरालालाई आफ्नो निवास चावहिलमा बोलाई तिनै जनाको हात समाती एकै ठाउँमा जोडी उहाँले भन्नुभयो ‘अब नेपाली कांग्रेस पार्टीको हरेक गतिविधि, संगठन निर्माण र जनअधिकारका लागि लड्ने लडाईमा तपाईहरु एकसाथ भएर मन, वचन र कर्मले लाग्नुहोला । अब नेपाली कांग्रेस पार्टी तपाईहरुको जिम्मामा छ ।’

वीपीको निधनपछि कार्यकर्ता तहमा ठूलो निराशा छाउँदै गयो । अब वीपी पछिको नेपाली कांग्रेसको अवस्था कस्तो हुने हो, त्रयनेता एक ठाउँमा भएपनि कार्यर्तामा भने पुरै शंसयता देखिन्थ्यो । यसै अवस्थालाई मनन् गरी नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसादले निराशालाई चिर्नको लागि पूर्व मेचीदेखि पञ्चिम् महाकालीसम्म रहेका जनता र कार्यकर्ताको उत्साह र उमंग भर्न जनताको घरदैलोमा पुग्ने निर्णय गर्नुभयो । यसै अनुरुप २०४० फागुन २० गते विहानको समयमा रुपन्देहीको सुरजपुरामा पार्टी सभापाति पुष्पानन्द गिरीको घर कम्पाउण्डमा कार्यकर्ता भेलाको आयोजना गरिएको थियो । सोही दिन विहान कार्यक्रम स्थल सुरजपुरादेखि करिव सात किलोमिटर उत्तरदेखि देवदह खैरेनिमा गिरिजाप्रसााद कोइराला लागायतका अन्य नेताको स्वागतका लागि कार्यकर्ताहरु फुलमाला लिएर बसेका थिए । तर तोकिएको समयमा गिरिजाप्रसाद आइनपुगेकोले कार्यकर्तामा निराशा बढ्दै थियो ।

नारायणघाट बाट आइपुग्नु पर्ने नेताहरु समयमा आइपुग्नु भएन । किन ढिलो भयो, बाटोमा कुनै अवरोध भयो कि भनेर रुपन्देहीका सभापति पुष्पानन्द गिरीसँग सरसल्लाह गरी म गोपाल गिरी र गोपाल पराजुली (पुर्व प्रधानन्यायाधीश) सुनवलसम्म पुग्ने निर्णय भए अनुसार एउट साइकलमा सुनवल तर्फ लाग्दै गर्दा खैरेनी सुनवलको बीचमा पर्ने जंगलमा नेताआएको गाडि भेट भई हामी कार्यक्रम स्थल तर्फ फर्कियौं । उक्त समयमा खैरेनीबाट सुरजपुरा जाने बाटोमा गाडि नचल्ने हुँदा खैरेनी मै महामन्त्रीलाई स्वागत गरी कार्यक्रमस्थल सुरजपुरासम्म करिव डेढगण्टा हिंडेर पुगियो ।

सुरजपुरामा कार्यकर्ता र जनतको व्यापक उपस्थिति थियो । गाउँमा चलहपहल बढेको थियो । जिल्लाका टाढाटढा मर्चवा, लुम्बिनी, सालझण्डी आदि विकट ठाउँबाट पनि कार्यकर्ताको व्यापक उपस्थिति देखेर महामन्त्री उत्साहित हुनु भएको थियो । उहाँको मुहार हँसिलो भएको सहजै अनुमान गर्न सकिन्थ्यो । टाढाटाढाबाट आएका कर्यकर्ता बेलुका घर फर्किनु पर्ने भएकाले सुरजपुरा पुग्नासाथ रुपन्देहीका सभापति पुष्पानन्द गिरीको सभापतित्वमा कार्यक्रम शुरुभयो । उक्त कार्यक्रमलाई सञ्चालन सचिव रामकृष्ण ताम्राकारले गर्नुभएको थियो । सभालाई महामन्त्री गिरिजाप्रसाद, शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो । जयप्रकाशले टिपोट र फोटो खिच्ने काम गर्नुभएको थियो ।

खाना नखाएकाले पहिलो चरणको कार्यक्रम छिटो सक्ने अभिप्रायले केन्द्रीय नेताहरुले मात्र बोल्नु भएको थियो । बोल्ने क्रममा महामन्त्रीले आफू गाउँ टोल कार्यकर्ताको घरदैलोमा आउनुको कारण प्रकाश पार्नुभएको थियो । उहाँको धारणा सुनेर कार्यकर्तामा नयाँ उत्साह थपिएको महसुस गर्न सकिन्थ्यो । कार्यक्रम अन्तिम समयतिर गिरिजाप्रसादले बोली सकेपछि सुरजपुरा गाउँको चारैतिरबाट हातमा लाठी, खुकुरी, भाला, कोदालो, वञ्चरो लगायत विभिन्न किसिमका हातहतियार बोकेका करिव आठसय जतिको जत्थाले हाम्रो राजा जिन्दावाद, गिरिजालाई मार्छौ–मार्छौ भन्दै उत्तेजित नारा लगाउँदै आक्रमण शुरुगरे । उपस्थित कार्यकर्तामा भागदौड मच्चियो । कार्यक्रममा लाठिधारी कार्यकर्ता पनि प्रशस्त आएका थिए । तराईबासी प्राय कहीं जाँदा लाठी लिएर हिंड्छन् । ति लाठीधारी कर्यकर्ता प्रत्याक्रमणका लगि तयार हुँदा गिरिजाप्रसादले हामीहरु संयमित हुनुपर्छ भनी लाठीजति एउटा कोठामा राख्न लगाउनु भयो । यसैबीचमा पुष्पानन्द, रामकृष्ण, म गोपाल गिरी सवैभन्दा पहिले गिरिजाप्रसाद लगायतका नेताहरुलाई सुरक्षित स्थानमा पुराउने हेतुले घरको माथिल्लो तलाको हलमा लगियो । हामीले भेटेजति नेतालाई घरको माथि उकाल्यौं । म आफू २०÷२१ वर्षको युवा, भएको नेता र रुपन्देहीका साथीभाई, घरपरिवार सँगपनि हेलमेल भएकोले पनि अन्य छिमेकीका घरमा समेत राखेर आक्रमणबाट जोगाउने ग¥यौं । कोही पिटाईबाट रोहीकराई रहेका थिए, आक्रमण भइरहेको थियो । यसैबीचमा आँगनको मध्य भागमा रगतको आहाल देखेपछि यसो हेरेको त रगतको नजिकै शेरबहादुर दाईलाई देखें । उहाँको ओठबाट भलभल्ती रगत बगीरहेको थियो । अनि उहाँलाईं समातेर माथि चेटामा लगियो । हामी त्यहाँ तिनजना मात्रै थियौं । चितवतका माननीय स्वर्गीय एकनाथ भाट, भैरहवाका कृष्णप्रसाद शर्मा (मास्टरबाजे) र म गोपाल गिरी शेरबहादुर दाईलाइ रक्ताम्मे देख्नासाथ चोटामा रहेकी नेतृ शैलजा आचार्यले शेरबहादुर दाईलाई के भयो भनेर रगत रोक्ने साधन केही नपाउँदा आफूले लगाएको सुतीको साडी च्यात्ने प्रयास गरी सारीको फेरको टुक्राले रगत रोक्ने प्रयास गर्नुभयो । त्यो देखेर शैलजा दिदीले भन्नुभयो ‘म महिला भएकोले मलाई केही गर्दैनन्, म बाहिर गएर तिनीहरुलाई हात जोडेर आक्रमण नगर, हामी निहत्था माथि किन र कसको आदेशबाट आक्रमण गरेको भन्छु ।’ भनेर जिद्दि गरेर बाहिर निस्कन ‘लाग्दा दिदी तपाईंलाई पनि बाँकी राख्दैनन् नजानुहोस्’ भनेर हामीले रोक्यौं । त्यसपछि म र एकनाथ दाई घरको कोठीबाट बाहिर निस्किएर कोही कार्यकर्ता बाँकी छन् कि भनी हेर्ने प्रयास गर्दा उनीहरुको एकोहोरो आक्रमण भएको र घर भत्काउने प्रयास गरेको चाल पायौं । उनीहरुको नजर हामीमा परिहाल्यो । उनीहरुले बाहिरबाट हामीलाई आक्रमण गर्न अघि बढेपछि हामी दुई कोठीको गदबार लगाएर भित्र पसेको मात्र थियौं, आक्रमणकारी बाहिरबाट कोठी फोरेर भित्रै पसे । त्यसपछि घरको माथि जाने ठाउँमा मूल ढोकामा थियो, त्यसलाई हामीले लगाउने कोशिस गरिरहेका थियौं । उनीहरु बाहिरबाट धकेल्दै भित्र पस्ने कोशिस गर्ने समयमा हामी भित्रबाट गदबार लगाउन सफल भई हामी पनि चोटामा उक्लियौं ।

बाहिरबाट ढुंगाबाट र हातहतियारले एकोहोरो आक्रमण भइरहेको थियो । अब हामी निहत्था नेताकार्यकर्ता घरको मध्ये तलामा रहेको हल र सिरान तलामा, कोही घरको तल्लो भागको कोठामा बन्दीरुपले आफ्नो मृत्यु करेर बसीरहेको भान हुन्थ्यो । त्यो दृष्य देख्दा लाग्दथ्यो महाभारतको युद्ध भइरहेका छ । महाभारतमा दोहोरो युद्ध भएको थियो तर सुरज पुरामा एकोहोरो आक्रमण थियो । हलमा भएका सवैबाट एउटै आवाज आइरहेको थियो, रामराम हे भगवान । हलको दक्षिण भागमा पुष्पानन्द गिरीको सुत्ने एउटा कोठा थियो । उक्त कोठामा महामन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । कोठाको ढोका खुल्लै थियो । तर त्यहाँ तिनजना मात्रै थियौं । गिरिजाप्रसाद, पुष्पानन्द गिरी र म गोपाल गिरी । तेत्रो ठूलो आक्रमणमा पनि गिरिजाप्रसाद विचलित देखिनु भएन । उहाँ गम्भीर मुद्रामा पनि अनुहारमा मलिन थिएन । आक्रमण एकोहोरो भएपनि महाभारतको युद्धजस्तै मेघ गर्जनको आवाज सुनिन्थ्यो । यसैबीचमा आक्रमणको एकघण्टा पश्चात् गिरिजाप्रसादले पुष्पानन्द गिरीलाई सोध्नु भयो गिरीजी खाने चिज केही छ ? अनि पुष्पानन्दले म तिर फर्केर भन्नुभयो ए गोपाल, हिजो ल्याएको खाजाको सामान कहाँ छ ? मैले भने खाट मुनितिर छ भनेर तन्नाले ढाकेको पलाङमुनिबा केरा, स्याउ र कोकोनट विस्कुट निकालेर गिरिजादाजुको अगाडि राखिदिएँ । अनि कोठामा रहेको पानीले स्याउ पखाली काट्ने कुरा केही नभेटेकाले नेलकटरको चुप्पिले काटी गिरिजादाजुलाई दिएँ । उहाँले हामी दुवै जनालाई पनि खान अनुरोध गर्नुभयो । गिरिजा दाजुले दुई टुक्रा स्याउ, एउटा केरा, बिस्कुट दुईतिन पिस खानु भयो । र जगबाट पानी खाएपछि पुष्पानन्द गिरीलाई तपाईसँग बन्दुक छ होइन भनेर सोध्नु भयो र उहाँले छ भनेपछि निकाल्न भन्नु भयो । पुष्पानन्द केही हच्किनु भयो । गिरिजादाजुले निकाल्नुस् न भनेपछि म तिर फर्केर भन्नु भयो, ए गोपाल बाबुरामलाई बन्दुक निकाल्न भन भनेपछि बाबुराम (जेठोछोरा) उहाँले बन्दुक लिएर आउनु भयो । गिरिजादाजुको आदेशबाट उहाँले झ्यालबाट बन्दुक फायर गर्ने कोशिश गर्नुभयो तर पड्केन । त्यसपछि साहिंलो छोरा शक्ति प्रसन्न गिरीले कोशिश गर्दा पनि पड्केन । खोका पुरानो भएकोले नपड्कोको रहेछ । तर बन्दुक देखेपछि आक्रमणकारी हतोत्साहित भएर भन्न थाले भागभाग माथिबाट गोली हान्न थाले । केहीले आक्रमण कारीले पराल र दाउरा जम्मा गरी घरको तल्लो भाग कोठीमा आगो लगाई बाहिरबाट ढोका लगाइ भागे । आगो दन्किन थाल्यो । चारैतिबाट माथि धुवाँको मुस्लो आउन थाल्यो । माथि कोहराम मच्चिन थाल्यो । अब आगोले डढेर सवै एकै चिहान भइने भयो भनेर सवैमा त्रास बढ्यो । त्यसको आधाघण्टा पछि आक्रमणकारी गएको थाहापाई गाउँले जम्मा भएर आगो निभाए । त्यसपछि हामी सवै बाहिर निस्कियौं । बाहिर निस्किएपछि बढो दर्दनाक दृष्य देख्यौं । घरको चारैतिर बञ्चरो, कोदालोको डोबहरु देखिन्थ्यो । घरको बनो निकै बलियो भएकोले घर फोड्न सकेनन् । ईंटाको घर भएको भए एकएक ईंटा निकालेर घर भत्काउँथे ।

हामी धेरैले आफूलाई गुमाउने अवस्था थियो । चारैतिर रगतका टाट देखिन्थ्े । घटनास्थलमा कहालीलाग्दो अवस्था हामीले भोगिरहेका थियौं । घर कम्पाउण्डमा एउटा पसल थियो, त्यो आक्रमणकारीले लुटेर लगेका थिए । धानको गोदाम फोडेर अन्नपात सवै लगेका थिए । हामी बाहिर निस्किएर चारैतिर घाइतेहरुलाई खोज्न थाल्यौं । गाउँका अरु घरमा शरण लिएर बसेका साथीहरु पनि जम्मा भए । गाउँको मेरो फुपु नाता पर्नेमा बसेका जयप्रकास गुप्ता र उमेश गिरी पनि त्यहीं आए । जयप्रकासले त्यो घरबाट आक्रमण भएको फोटो पनि खिचेका रहेछन् । गहुँबारिमा यादवनाथ आलोक अचेत अवस्थामा भेटिनु भयो । सुरजपुराबाट बुटवल जान गाडि नपाइने भएकोले सिमरासम्म जान लडिया जम्मा गरियो । सातआठ ओटा बयलगाडामा घाइतेसाथीलाई राखि गिरिजादाजु सहित हामी सवै नेता कार्यकर्ता सिमरातर्फ अघिबढ्यौं । गोपालमान श्रेष्ठ (पुर्व उपप्रधानमन्त्री) र शालिगराम शर्मा भैरहवा तर्फ लाग्नुभयो । हामी सिमरा पुग्दा रात परिसकेको थियो । विहानै देखि हामी सवै नेता कार्यकर्ता भोकै थियौं । तर घटनाको त्रासले हाम्रो भोक हराइसकेको थियो । हामी सिमरा पुगेको केही समयमा नै भैरहवाबाट गोपालमान दाई र शालिगराम दाईले दुईवटा ट्रक लिएर आउनु भयो । घाइते शेरबाहादुर देउवा, यादवनाथ आलोक, रामप्रसाद चौधरी लगायत अन्य घाइतेलाई ट्रकमा राखेर बुटवल अञ्चल अस्पतालमा लगि भर्ना गरियो । गिरिजादाजु लगायत काठमाडौबाट आएका अन्य कार्यकर्ता साथीहरु बुटवलका कांग्रेस नेता अग्निकुमार र सुर्यप्रसाद प्रधानको घरमा बाँडीएर बस्यौं । गिरिजाप्रसाद, शैलजा आचार्य, रामचन्द्र पौडेल, पुष्पानन्द गिरी सहित हामीहरु अग्निकुमार जिको घरमा बस्यौं । रातको करिव १२ बजे एउट ठूलो भाँडामा चिउरा, काँचो बन्दा, नुन मोलेर खाइयो । भोलिपल्ट विहान सवेरै यादवनाथ आलोकको निधन भएको खबर सुनियो । खबर सुन्निे वित्तिकै हामीसबै हस्पिटल तर्फ लाग्यौं । सोही दिन गिरिजाप्रसाद काठमाडौंमा रहेका नेता गणेशमान सिंह, किसुनजी र अन्य केन्द्रीय नेतासँग सरसल्लाह गर्न र भावी कार्यक्रम तयगर्न काठमाडौं फर्किनु भयो । यादवनाथ आलोकको निधनबाट सवै कांग्रेसजन मर्माहत बने । गिरिजाप्रसाद र नेकांको आह्वानमा जिल्ला–जिल्लामा विरोध प्रदर्शन शुरुभयो । यादव नाथ आलोकको निधन भएको दोस्रो दिन महामन्त्री गिरिजाप्रसदको पहलमा आकास्मिक केन्द्रीय समितिको बैठक बसी आलोक जीलाई सहिद घोषणा गरियो र उहाँको शव काठमाडौं ल्याउने निधो भयो । हामीले उहाँको शव काठमाडौ लैजाने तयारी स्वरुप मणिकराम आनन्दवनका शैलेन्द्र अधिकारीको सहयोगमा बसको व्यवस्थापन गरी नारायणघात तर्फ लाग्यौ । तर नारायणगढ पुगेपछि चितवनको प्रहरी प्रशासनले काठमाडौं जान रोक लगायो । त्यसपछि महामन्त्री गिरिजाप्रसादसँग सम्पर्क गरी नारायणी नदीमा आलोक जीको दाहसंस्कार गरियो । सुरजपुरा घटनापछि देशव्यापी रुपमा आन्दोलन चर्किए चर्किंदै गएपछि सरकार बाध्य भएर टेकबहाद्ुर रायमाझीको अध्यक्षतामा सुरजपुरा काण्ड जाँचबुझ छानविन आयोग गठन ग¥यो । जाँचबुझ टोली सुरजपुरा आई घटनाको विवरण लिने सन्दर्भमा टोली प्रमुख टेकबहाुर रायमाझीले घरको के–कति क्षति भयो, क्षतिपुर्ती सम्बन्धमा के–कसो गर्ने हो भनेर पुष्पानन्दा गिरीलाई सोध्दा, उनको जवाफ थियो ‘मेरो घरपरिवारको क्षति मेरा लागि नगन्य हो, क्षतिपुर्ति दिनुहुन्छ भने मलाई यादवनाथ आलोक चाहियो, मलाई उहाँको रगतको मुल्य चाहियो । त्यो भनेको देशमा पूर्ण प्रजातन्त्र हो ।’ भनेर जवाफ दिनुभयो । सुरजपुरा काण्डको दशदिन पछि घाइते रामप्रसाद चौधरीलाई घरमै गएर गोलि हानी पञ्चायती शासकले सहिद बनाए । आज ४० वर्ष पछिपनि सुरजपुरा काण्डको घाउ हामीसँग आलै छ । सोही काण्डका घाइते शेरबहादुर दाई पार्टी सभापति हुनुहन्छ । रामचन्द्र दाई राष्ट्रपति हुनुहन्छ, गोपालमान दाई उपप्रधानमन्त्री सम्म हुनुभयो । सहिदभूमि सुरजपुरा सहिदहरु, घाइतेहरु र अन्य सहभागी नेताकार्यकर्ता साथीहरुका बारेमा पार्टी र राज्यले कुनै चासो दिएको देखिंदैन । यो घटनाको बारेमा धेरै कुरा पुस्तकाकारको रुपमा बाहिर ल्याउने प्रयास गर्नेनै छु । जय नेपाल ।

गोपाल गिरी
रत्ननगर–३, चितवन

Facebook Comments Box