हेटौँडामा भेट्रान्स फुटबल प्रतियोगिता सुरु

खेलकुद

मनहरी (मकवानपुर), १५ वैशाखः लामसुरे खेलकुद विकास समिति हेटौँडा–९ को आयोजनामा आजदेखि दोस्रो मोहन श्रेष्ठ स्मृति ९ नं वडा रनिङशिल्ड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ ।

चालिस वर्षमाथि उमेर समूहका खेलाडीबीच खेलाइने एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहँुदै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनुभयो ।

भेट्रान्स उमेरमा पनि सक्रिय भएर खेलक्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान दिँदै आएका पूर्वखेलाडीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिनुभयो । पछिल्लो समय देशभर भेट्रान्स प्रतियोगिताले चर्चा पाइरहेको अवस्थामा यस्ता प्रतियोगिताले हेटौँडालाई चिनाउन र युवापुस्ताका खेलाडीमा थप ऊर्जा दिलाउन सहयोग पुग्ने बताउनुभयो ।

वैशाख २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौँडा उपाहानगरपालिकाका १९ वटा वडाका ४० वर्षमाथिका खेलाडीको सहभागिता छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ११ हजार एक सय ११, दोस्रो हुने समूहले रु ६५ हजार पाँच सय ५५ र तेस्रो र चौथो हुने समूहले रु १५–१५ हजार प्राप्त गर्नेछन् ।

लामसुरे खेलकुद विकास समितिका अध्यक्ष विष्णु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामा, १९ वडाका अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

आज भएको उद्घाटन खेलमा हेटौँडा–५ ले हेटौँडा–७ लाई शून्यका विरुद्ध एक गोल गर्दै विजयी भएको छ । खेलको दोस्रो हाफको अन्तिम समयमा हेटाँैडा–५ का तर्फबाट सन्तोष श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको थियो ।

Facebook Comments Box