खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा खेलमैदान आवश्यक: सभापति देउवा

खेलकुद मुख्य समाचार समाचार

गोदावरी (ललितपुर) १५ वैशाखः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा सुविधासम्पन्न खेलमैदान आवश्यक भएको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नगरपालिकाभित्रै बहुउद्देश्यीय खेलमैदान निर्माण गरी यही मैदानमा प्रतियोगिता हुनु सुखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ्य नागरिकबिना देश समुन्नतिको यात्रामा अघि बढ्न सम्भव हुँदैन, त्यसैगरी व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

सभापति देउवाले पालिकास्तरमा खेलमैदान निर्माण गरी प्रतियोगिता आयोजना गरेकोमा नगरप्रमुख गजेन्द्र महर्जनलगायत सम्पूर्ण खेलाडीलाई बधाई दिनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभापति महर्जनले आगामी आर्थिक वर्षमा खेलमैदानका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । गोदावरी–१० टाखेलस्थित बहुउद्देश्यीय रङ्गशालामा आजदेखि सुरु प्रतियागिता वैशाख २९ गतेसम्म चल्नेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमशः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सार्वधिक गोलकर्तालाई रु २५ हजार, अनुशासित टोलीलाई रु ५० हजार, ‘प्लेयर अफ दी म्याच’लाई रु रु ५० हजारका साथै उत्कृष्ट खेलाडी, किपर, डिफेन्स, फरवार्ड र प्रशिक्षकलाई रु २५ नगद पुरस्कार प्रदान गरिने गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहका नौ, ललितपुरको चार स्थानीय तहका पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोलीको सहभागिता छ ।

प्रतियोगिताको पहिलो खेल गोदावरी ‘ए’ र महालक्ष्मी नगरपालिकाबीच भएको थियो । आजको खेलमा कुनै पनि समूहले गोल नगरेपछि पेनाल्टी सुटआउटमा महालक्ष्मी नगरपालिका ४–३ गोलअन्तरले विजयी भयो ।

उद्घाटनका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य संविधानसभा सभासद मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री इन्द्र बानियाँलगायतका नेता विभिन्न नगरपालिकाका प्रमुख, वडाध्यक्षलगायतको उपस्थिति थियो ।

Facebook Comments Box