लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकतामा

आर्थिक मुख्य समाचार

काठमाडौँ- तेस्रो लगानी सम्मेलनमा जलविद्युत आयोजना प्राथमिकतामा परेका छन्। आइतबारदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलनमा जलविद्युतका लगानीकर्ताहरु उत्साहित देखिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्‌घाटन सत्रमा पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताए। उनले भने, ‘जलविद्युत उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ।’

प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण चरणमा रहेका जानकारी दिए।विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने उनको भनाइ छ। यस क्षेत्र भित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेको पनि प्रधानमन्त्रीले जानकारी दिए।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरुमा लगानीको वातावरण तय गर्न सम्मेलनले तय गर्ने भन्दै यसले लगानीकर्तालाई थप उत्साहित बनाएको बताए। ‘उद्‌घाटन समारोहमा नै प्रधानमन्त्रीले नै जलविद्युतमा लगानीको सम्भावनाबारे स्पष्ट पारिसक्नुभएको छ। यसले पनि लगानी सम्मेलनमा जलविद्युत आयोजनाहरुलाई प्रथामिकता दिइएको स्पष्ट हुन्छ,’ उनले भने, ‘जलविद्युत् आयोजनाहरुलाई आवश्यक लगानी जुटाउन सम्मेलनले सहयोग पुग्नेछ तर सरकारले लगानीमैत्री वातावरणको विश्वास दिलाउन सक्नुपर्छ।’ कार्कीका अनुसार सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ। उक्त लक्ष्य कार्यान्वयन गर्नका लागि पनि सम्मेलनले सहयोग गर्ने उनको भनाइ छ।

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी व्यवसायीका लागि ढोका खुलेको बताए। यसले निजी लगानीकर्तालाई उत्साह बढाएको उनको भनाइ छ। ‘यो तेस्रो लगानी सम्मेलन त सुरुवात मात्रै हो। जलविद्युतमा आवश्यक पर्ने लगानीका लागि थुप्रै काम गर्न बाँकी नै छ,’ उनले भने, ‘सम्मेलनमा नेपाली व्यवसायहरुसँग मिलेर विदेशी व्यवसायीहरुले सहकार्य गर्ने मौका पनि जुर्ने विश्वास छ। यसले नेपालको जलविद्युत् क्षेत्रमा निकै सहयोग पुग्नेछ।’

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योग-धन्दा स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आइतबार देखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ।
बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्। लगानीका निम्ति सोकेसमा राखिएको परियोजना सम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छ भने १९ परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ।

Facebook Comments Box