संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासलाई कसैले सीमित गर्न सक्दैन’

मुख्य समाचार राजनीति

काठमाडौँ, १८ वैशाखः नेपाल पत्रकार महास¬ङ्घका अध्यक्ष विपुल पोखरेलले संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासको दायरालाई कसैले पनि सीमित गर्न नसक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको १०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा उहाँले संविधानको भावना र चलिआएको अभ्यास नकार्दै प्रेस स्वतन्त्रतालाई खुम्च्याउन नमिल्ने जिकिर गर्नुभयो ।

“संविधानले समाचार प्रकाशनमा पूर्वप्रतिबन्ध नलगाइने प्रस्ट व्यवस्था गरेको छ । पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा छ । हामीले गरिरहेको यो अभ्यासमाथि कहीँ कतैबाट खतराको घण्टी बज्नु उचित होइन”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

सञ्चारमाध्यमले गरेको गल्तीमा टेकेर पछिल्ला समय समग्र मिडियामाथि प्रतिबन्ध लगाउने वा मिडियालाई खेद्ने र प्रेस स्वतन्त्रतालाई नियन्त्रणमा राख्ने मनसाय प्रकट हुन थालेको उल्लेख गर्दै उहाँले समाचारका विषयवस्तुको सत्यता पुष्टि गर्ने दायित्व सम्बन्धित सञ्चारमाध्यमकै भएको पनि स्पष्ट पार्नुभयो ।

संविधान र मुलुकको स्वतन्त्र प्रेसले गरिरहेको अभ्यासको फराकिलो आधारलाई खुम्च्याउनका लागि कसैको निर्देशन वा आदेश पर्याप्त हुन नसक्ने उहाँको स्पष्टोक्ति थियो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रताको सुई सरकारतर्फ मात्र नतेर्सने भएकाले यससँग सरोकार राख्ने सबै निकायले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “प्रेस स्वतन्त्रता तथा व्यावसायिक स्वतन्त्रताको पक्षमा महासङ्घ खरोरुपमा उत्रनुपर्छ”, महासङ्घका पूर्वअध्यक्ष झाले भन्नुभयो, “प्रत्येक कालखण्डमा श्रमजीवीको मुद्दा उठ्दै आइरहेको छ, त्यस्ता विषयलाई सम्बोधन गर्न महासङ¬्घ अगाडि आउनुपर्छ ।”

पछिल्ला समय प्रेस स्वतन्त्रताको मुद्दा पेचिलो बन्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष झाले संविधानमा लेखेर मात्रै प्रेस स्वतन्त्रा सुनिश्चित नहुने बताउनुभयो । उहाँले पत्रकार महासङ्घलाई साझा चरित्र र स्वरुप भएको संस्थाका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

राससको समाचार कक्षलाई पूर्णसमावेशी बनाइएको उल्लेख गर्दै अध्यक्ष झाले समाचारका विषयवस्तुलाई पनि समावेशी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार तथा कर्मचारीको क्षमता अभिवृद्धि र वृत्तिविकासका लागि व्यवस्थापन क्रियाशील रहेको जनाउँदै उहाँले राससको समाचार कक्षको स्वतन्त्रतालाई पनि उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले सहमतिबाट नेतृत्व टुङ्ग्याउन आग्रह गर्दै प्रतिष्ठान शाखाबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले पत्रकारको वृत्तिविकासमा व्यवस्थापन क्रियाशील रहेको जानकारी गराउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारितामा देखिएको विश्वव्यापी चुनौतीको सामना गर्दै पत्रकारितामा सूचना प्रविधिको प्रयोगलगायत विषयमा सञ्चारकर्मी सचेत हुनुपर्ने बताउनुभयो ।

महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले प्रतिष्ठान श्रमजीवीको पक्षमा सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल रासस शाखाका सल्लाहकार प्रकाश सिलवाल, प्रेस सेन्टर राससका प्रतिनिधि अशोक घिमिरे र प्रेस युनियन रासस शाखाका अध्यक्ष पूर्णप्रसाद मिश्रलगायतले पत्रकार महासङ्घ प्रेस स्वतन्त्रता, पेसागत हकहित तथा श्रमजीवीको मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

Facebook Comments Box