आर्थिक सङ्कट विरुद्ध एकजुट हुन सबै दलहरूलाई श्रीलङ्काका राष्ट्रपतिको अपिल

अन्तराष्ट्रिय

कोलम्बो ।  देशमा देखिएको आर्थिक सङ्कटका विरुद्धमा एकजुट हुन श्रीलङ्काका राष्ट्रपतिले सबैलाई अपिल गर्नु भएको छ ।

राष्ट्रपति गोटाबाय राजापक्षले मुलुकको सङ्कट सबैको साझा सङ्कट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उहाँले आर्थिक सङ्कट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको आर्थिक सङ्कट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा आइपर्ने कुनै पनि ठूला समस्याहरूको समाधान कुनै व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न नसक्ने भएकाले सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट समाधानको नेतृत्व लिन सरकार तयार रहेको र त्यस सबै पक्षको पर्याप्त साथ चाहिने उहाँले बताउनु भयो ।

राष्ट्रपति राजापाक्षले मुलुकको सङ्कट समाधानका लागि सरकारसँगै मुख्य रुपमा दलहरू पनि जिम्मेबार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

श्रीलङ्कामा पछिल्लो समय आर्थिक र राजनीतिक सङ्कट उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण बस्तु तथा सेवाको अभाव हुने र अत्यधिक मूल्य वृद्धि भएपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको हो ।

बस्तु तथा सेवाको अभाव र मूल्य वृद्धिको विरुद्धमा आम नागरिक आन्दोलित भएपछि तत्कालीन सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक सङ्कट देखिएको थियो।

अहिले सरकारमा अन्य नेताहरूलाई लगिएको भएपनि राजनीतिक सन्तुलन मिल्न बाँकी नै रहेको छ भने सबैलाई समेटेर संयुक्त सरकार बनाउन राष्ट्रपति राजापाक्षले प्रयास गरिरहनु भएको छ ।

Facebook Comments Box