भारतको ७६औँ स्वतन्त्रता दिवस : नेपालको विकासमा साझेदारी

मुख्य समाचार समाचार

छिमेकी मित्रराष्ट्र भारतले आज ७६औँ स्वतन्त्रता दिवस मनाएको छ । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेकाले नेपालको विकासमा भारतको साथ र सहयोग रहँदै आएको छ । भारतले नेपालको ऊर्जा, रेलमार्ग, विद्यालय, एम्बुलेन्स, स्कूल बसलगायत सहयोग गर्दै आएको छ ।

विगत एक वर्षमा भारतले नेपालमा विद्युत् उत्पादन परियोजनाको विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको निर्माण, राष्ट्रिय प्रसारण लाइनको सञ्चालन, नेपालले भारततर्फ गर्दै आएको विद्युत् निर्यातमा वृद्धि, मोदी–लेखनाथ प्रसारण लाइन तथा सबस्टेशन परियोजनाअन्तर्गत निर्माण भएका तीन सबस्टेशनको उद्घाटन र एक सय ३२ केभी सोलु करिडोर प्रसारण लाइनको उद्घाटन अरुण–४ परियोजना कार्यान्वयनका लागि सहमति गरेको छ ।

यस्तै, २०७८ चैत १९ गते नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट ३४.९ किलोमिटर लामो जयनगर–कुर्था रेल खण्डको उद्घाटन गर्नुभएको थियो । रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षणको ५० प्रतिशत काम सम्पन्न भएको छ । यस्तै प्रहरी प्रतिष्ठानको निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

भारत सरकारले नेपालमा गत वर्ष ७५ एम्बुलेन्स र १७ स्कूल बस उपहारस्वरुप प्रदान गरेको थियो । भारतले हालसम्म नेपालमा नौ सय ४० एम्बुलेन्स र १८४ स्कूल बस उपलब्ध गराइसकेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतले उच्च प्रभाव सामुदायिक परियोजनाअन्तर्गत कास्की, मुस्ताङ, कपिलवस्तु, पर्वत, ताप्लेजुङ, तनहुँ, नुवाकोट लगायतका जिल्लामा १७ विद्यालय निर्माण गर्नाका साथै सिँचाइ र फोहोर पानी व्यवस्थापनका लागि पनि सहयोग गर्दै आएको छ । यस्तै, रक्षा सहकार्यअन्तर्गत भारत–नेपाल संयुक्त सैन्य अभ्यास र नेपाली सेनाका लागि वर्कशप ट्रक उपहारस्वरुप प्रदान गरेको छ । भारत सरकारले विगत एक वर्षमा शैक्षिक कार्यक्रमअन्तर्गत दुई हजार चार सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत प्रगति पथमा लम्कँदै गर्दा पारस्परिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले नेपालसँगको विकास साझेदारीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न भारतले चाहेको स्पष्ट पार्नुभयो ।

Facebook Comments Box