विकासको मूलधारमा जोडिन सञ्चारजगत्लाई मन्त्री शर्माको आग्रह

राजनीति समाचार

देउखुरी (दाङ), ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासको मूलधारमा जोडिन सञ्चारजगत्ले अभियान चलाउनुपर्ने बेला आएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाको २२औँ साधारणसभा, १२औँ अधिवेशन एवम् मिडिया महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यभार र कानुनमा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा गर्न अब सञ्चारजगत् र राजनीतिक क्षेत्रबाट अभियान चलाउनुपर्ने बेला आएको छ भन्नुभयो ।

उहाँले अहिले पनि महिला उत्पीडन, सीमान्तकृत समुदायका मुद्दा, अधिकार कार्यान्वयनको विषयमा चुनौती देखिएको हुँदा संविधानमा लेखिएका कुरा व्यवहारमा उतार्न र अक्षरस पालना गर्नका लागि सञ्चारको सशक्त भूमिका हुनुपर्छ भन्नुभयो ।

“संविधानमा लेखिएको मौलिक हकलाई अभियानात्मक रुपमा जिम्मेवार सञ्चारजगत्ले भूमिका खेल्न सक्छ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।

समाजमा नकारात्मक धारणाले स्थान पाउने अवस्था बन्दै जानु मुलुकको हित नगर्ने भएको जनाउँदै आशाको दियो बाल्न थोरै सही समाचार र सकारात्मक समाचारमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले समाजको धारणा नकारात्मक रुपमा आउने गरेको छ । समाजमा नकारात्मक मात्रै छ भन्ने भाष्य गलत छ । के यहाँ कुनै कुरा सकारात्मक कुरा भएको छैन ? समाजको हितमा लागेकाहरुको भूमिका सकारात्मक छैन र ?” उहाँले भन्नुभयो, “अब आशाको दियो बाल्न थोरै भए पनि कोसिस गरौँ । समाजका सफलताका कथा बाहिर ल्याउनु लागौँ ।”

अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता एकअर्काका परिपूरक रहेको उहाँको भनाइ थियो । देशलाई अग्रगतिमा लैजान दुवै पक्ष गम्भीरतापूर्वक जनउत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पत्रकारिता र राजनीति परिवर्तनको यात्रामासँगसँगै छन् । अहिले ‘एजेन्डा’ फेरिएको छ । राजनीतिक स्थायित्व भयो तर राजनीतिक अभिभारा पूरा गर्दै अघि बढ्दा अहिले धेरै अभिभारा थपिएको छ,” उहाँले भन्नुभयो, “हामी संविधानको मौलिक हक कार्यान्वयन गर्नुपर्ने अवस्थामा छौँ । परिवर्तन ल्याउन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने छ । तीन तहका सरकारको काम, उत्पीडितलाई मूल प्रवाहमा ल्याउन जुन काम हुनुपथ्र्याे त्यो व्यावहारिक रुपमा हुन सकेको छैन । अबको ध्यान यता हुनुपर्छ ।” उहाँले देशमा व्यवस्था परिवर्तनका लागि जसले निरङ्कुशता व्यहोर्नुपरेको थियोे आज त्यही पुस्ता गणतन्त्र र व्यवस्थाबारे नकारात्मक कुरा फैलाइरहेकोप्रति चासो व्यक्त गर्नुभयो ।

गणतन्त्रमाथिको गलत लाञ्छना लगाउने विरुद्ध बलियो आवाज उठाउन मिडियाको मूल मुद्दा बनाउन आग्रह गर्नुभयो । “जसले निरङ्कुशता व्यहोरेन आज त्यही पुस्ता गणतन्त्र र व्यवस्थाबारे नकारात्मक कुरा फैलाइरहेको छ । गणतन्त्रमाथिका गलत लाञ्छना लगाउने विरुद्ध बलियो आवाज उठाउन मिडिया खबरदारी जरुरी छ । किनभने गणतन्त्र व्यवस्था गलत होइन, कोही व्यक्तिविशेषले कमजोरी गर्दा व्यवस्थामाथि आरोप लगाइनु ठीक होइन,” उहाँले भन्नुभयो, “लोकतन्त्र राम्रो र परिस्कृत काम गर्ने व्यवस्था हो । यसमा देखापरेका कमीकमजोरी हटाउँदै समृद्ध मुलुक बनाउने काममा पत्रकारको भूमिका थप सशक्त हुनुपर्छ ।”

उहाँले आमसञ्चारको क्षेत्रमा आएको परिवर्तनलाई व्यवस्थित गर्न पुनःसंरचना जरुरी रहेको औँल्याउनुभयो । जिम्मेवार आमसञ्चार नीति बनाउनका लागि आवश्यक सुझावको अपेक्षामा सरकार रहेको उहाँले बताउनुभयो ।

पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, अकोराबका अध्यक्ष अर्जुन गिरी, केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुशील पोखरेल, महासङ्घ प्रदेश उपाध्यक्ष शुक्र ऋषि चौलागाईं, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, महासङ्घका सल्लाहकार सुदीप गौतम, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कँुवेर कडायतलगायतले बोल्नुभएको थियो ।

Facebook Comments Box