राजनीतिक परिस्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

मुख्य समाचार राजनीति

काठमाडौँ, ४ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानुन निर्माणमा समेत केही प्रभाव परेको बताउनुभएको छ । उहाँले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाउनुभयो ।

सङ्घीय संसद्का विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो, “सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ ।”

राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाती नरहेको जनाउँदै उहाँले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

सभाका कामकारबाही र गतिविधि गतिशील र चुस्त भएमा सञ्चारमाध्यम स्वयम्ले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चारजगत्को सहयोगको अपेक्षा गर्नुभयो ।

अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसाबले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाउनुभयो ।

सो कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box