नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित

खेलकुद समाचार

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको हो ।

जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो । नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्सनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे ।

बलिङतर्फ वेष्ट इन्डिजका ओबेद म्याककोय र म्याथ्यु फर्डले दुई दुई तथा किमो पलले एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले वेष्ट इन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ ।
–––

Facebook Comments Box