जनचेतना जगाउन पत्रकारिताको भूमिका महत्वपूर्ण– उपसभामुख रानामगर

मुख्य समाचार राजनीति समाचार

पाटन (ललितपुर), २६ वैशाख : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले जलवायु परिवर्तनको असर न्यूनीकरणमा जनचेतना जगाउन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर त्रिभुवन विश्वविद्यालय र नेपाल पत्रकार महासङ्घसँगको समन्वयमा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठनले आज ललितपुरमा आयोजना गरेको ‘वातावरणीय सङ्कट सामानाका लागि पत्रकारिता’ विषयक कार्यक्रममा उहाँले जलवायु परिवर्तनले नेपाललाई धेरै असर पारेको छ भन्नुभयो ।

उहाँले यसको असरलाई न्यूनीकरण गर्न नागरिकलाई सचेत गराउनु र सरकारलाई यस क्षेत्रमा लगानी बढाउन पत्रकारले पत्रकारितामार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।

“पत्रकारहरुले जहिले पनि लेख, रचना तथा आलेखबाट परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । वातावरणलाई असर पार्ने मानिसका आनिबानी र व्यवहारलाई परिवर्तन गराउँदै वातावरणमैत्री बनाउन सक्नुपर्छ । हामीसँग प्राकृतिक सुन्दरता छ, यसलाई बचाउँदै आयआर्जन पनि गर्न सकिन्छ, नेपालमा केही पनि छैन भन्ने भन्ने भनाइलाई चिर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले पत्रकारिताको कुनै एउटामात्र क्षेत्रको मात्रै विशिष्ठिकृत भूमिका नभएर सबै क्षेत्रमा उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट निम्तिएको सङ्कट समाधानका लागि त्रिभुवन विश्वविद्यालय गम्भीर रहेको धारणा राख्नुहुँदै वातावरणीय सङ्कट समाधानका लागि प्राज्ञिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्छ भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले जलवायु परिवर्तनबाट हुने असन्तुलनबाट बच्न जिम्मेवार पत्रकारिताका लागि सबैपक्षको सहयोग र सहकार्य आवश्यक हुने बताउनुभयो ।

उहाँले युनेस्कोले विश्वास प्रेस स्वतन्त्रता दिवसका अवसरमा छुट्टै नारा तय गरेर सामूहिक मुद्दामा ध्यानाकर्षण गराउने अभ्यासका लागि पत्रकारितालाई वातावरणसँग कसरी जोड्न सकिन्छ भन्नेमा केन्द्रित रहेकामा आभार व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक प्रवलराज पोखरेलले वातावरणसम्बन्धी समस्या २१औँ शताब्दीको मुख्य समस्या रहेको जनाउँदै जलवायु अनुकूलनका लागि रैथाने ज्ञानको विकास गरिनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न लगानीमैत्री वातावरण बन्नुपर्ने र अध्ययन, अनुसन्धानलाई जोड दिइनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वातावरण प्रदूषण गर्ने खराब क्रियाकलापको तस्बीर विभिन्न सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गरी जनचेतना जगाउने उत्कृष्ट पत्रकार वर्षा शाह, स्कन्द गौतम, संजोग मानन्धर, सुमन नेपाली, प्रविण रानभाट, प्रकाशचन्द्र तिमिल्सिना, अमन शाक्य, अमित मचामसी, अभिषेक महर्जन र सुशीलकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box