‘कला संस्कृतिको जगेर्ना जरुरी’

मनोरन्जन समाचार

काठमाडौँ, १२ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कला संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताउनुभएको छ ।

यहाँस्थित नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्दै अध्यक्ष लिङ्देनले कला संस्कृतिले मुलुकको पहिचान र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

उहाँले गाउँगाउँमा लुकेका सौन्दर्यलाई कलाकारले आफ्ना सिर्जनामार्फत यसरी उजागर गर्दा त्यसले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । चित्रकारका सिर्जनाले मुलुकको पहिचानलाई विश्वसामु पु¥याउन पनि सहयोग गर्ने उहाँको भनाइ थियो ।

आजै नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि उक्त प्रदर्शनीको अवलोकन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्राकृतिक सम्पदा र संस्कृतिले धनी रहेको तर उचित प्रचारप्रसार र उपयोग गर्न नसकिएको उल्लेख गर्दै यस्ता चित्रकलाले संस्कृतिको पहिचान दिलाउन योगदान पु¥याउने बताउनुभयो ।

कला सिर्जनाले नै त्यस देशको पहिचान विश्वमा पु¥याउने बताउँदै उहाँले यसले आन्तरिक र बाह्य पर्यटन विकासमा योगदान पु¥याउने बताउनुभयो । यस्ता सिर्जनाले संस्कृति चिनाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ ।

प्रदर्शनीमा अवलोकनका लागि कला पारखीको बाक्लो उपस्थिति हुने गरेको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताउनुभयो । उहाँका अनुसार दैनिक एक हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरिरहनुभएको छ । प्रदर्शनीमा ५० देशका २१० चित्रसिर्जना प्रदर्शन गरिएको छ ।

स्वदेशी र नेपाल आएका विदेशी कलाकारले गएको असोज १७ गतेदेखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सिर्जना यहाँ ल्याएर प्रदर्शन गरिएको हो ।

पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि चित्रकला कार्यशाला गरी काठमाडौँमा ल्याएर प्रदर्शन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । उहाँले उक्त प्रदर्शनीले खोटाङको पहिचान र परिचय विश्वसामु पुगेको अनूभूति भएको बताउनुभयो ।

प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका कलाकारले यही आएर बनाएका चित्रहरु पनि समावेश छन् ।

Facebook Comments Box