कला निर्माण र प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ : सभामुख घिमिरे

आर्थिक मनोरन्जन समाचार

काठमाडौँ, ८ फागुन : सभामुख देवराज घिमिरेले विभिन्न जिल्लामा कलाकार पुगेर सिर्जना गरिएका चित्र काठमाडौँमा ल्याई प्रदर्शन गर्दा त्यसले सम्पदाको महत्व बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभएको छ ।

काठमाडौँको नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्नुहुँदै सभामुख घिमिरेले यस्ता कार्यक्रम हरेक जिल्लामा आवश्यक रहेको बताउनुभयो ।

“खोटाङको दिक्तेलमै पुगेर कलाकारले चित्र निर्माण गर्नु महत्वपूर्ण कुरा हो, त्यहाँका विशेषतालाई कलामार्फत उतारेर काठमाडौँमा प्रदर्शन गर्दा देशका सम्पदाको महत्व बढ्ने र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो । उहाँले यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई धन्यवाद दिनुभयो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ फागुन १७ गतेसम्म जारी रहने छ । प्रदर्शनीमा अवलोकनका लागि कला पारखीको बाक्लो उपस्थिति हुने गरेको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताउनुभयो । प्रदर्शनीमा १४ देशका ४६ कलाकारले बनाएका एक सय ५० भन्दा बढी सृजना प्रदर्शन गरिएका छन् । उनीहरुले गत असोज १७ देखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भइ बनाएका सृजना यहाँ ल्याएर प्रदर्शन गरिएको हो ।

चित्रकलाको माध्यमबाट पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि कार्यशाला गरी काठमाडौँमा ल्याएर प्रदर्शन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राससलाई बताउनुभयो । प्रदर्शनीको शनिबार पूर्वराष्ट्रपति रामवरण यादवले उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीमा नेपालसहित भारत, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका कलाकारले बनाएका चित्र समावेश छन् ।

Facebook Comments Box