श्रमिकको समस्या समाधानका लागि श्रमाधान योजना घोषणा

प्रवास मुख्य समाचार वैदेशिक रोजगार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच श्रमाधान योजनाको घोषणा गर्दे श्रम मन्त्री डोल प्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने बताए । ‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ । तर, यसको काम सिमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको छ । जसले प्रत्येक कार्यक्रमको उद्धेश्य र महत्वलई प्रतिविम्बित पनि गर्छ ।

श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङग’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसंग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने बिषयमा काम गर्ने मन्त्री अर्यालले बताए । दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानतको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ ।

चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रम मार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिक लाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुराएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याईनेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।

श्रमाधान योजनाका सात क्षेत्र कार्यक्रम : सेकेन्ड इनिङग ‘अवकाश पछिको आरम्भ’

श्रमाधान सेकेण्ड इनिङगमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुन ः सक्रिय बनाउन मद्धत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेनानिवृत व्यक्तिहरुलाई आफनो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुयाउने छ ।

रोजगार बैक : ‘पेशागत यात्राको सहयात्री’

श्रमाधान रोजगार बैंकको उद्धेश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयतात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र वृहत प्रतिनिधित्व गर्दे रोजगारीका अवसरहरुलाई व्यापक बनाउनु हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेशागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ ।

समता : ‘विविधताको एकता श्रममा समता’

श्रम क्षेत्रमा लैगिंक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मुलधारमा आउन नसकेको नागरिकहरुको पहिचान गर्दे श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्धेश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ ।

‘श्रम सम्बन्धी कानुन सबैले जानुन’

श्रमाधान ल श्रमिकहरुलाई उनीहरुका कानुनी अधिकारहरु र कर्तब्यहरु बुझाएर श्रमको यात्रामा कानुनी रुपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम कानुनका विभिन्न पक्षहरुमा सुसुचित गराई भविश्यमा हुन सक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेष गरी श्रमिकहरुको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरुलाई सहजतापूर्व समाधान गर्न मद्धत पुराउने ध्ययेका साथ ल्याईएको हो ।

कनेक्ट : ‘भोलिको तयारी, आजैबाट’

विश्व श्रम बजारको हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधितासँग जोड्न श्रमाधान कनेक्ट कार्यक्रमको उद्धेश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरि रहेका नेपाली श्रमिक र गैर आवसीय नेपालीहरुलाई एउटै धागोमा जोडेर नेपालीहरुको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ ।

साथ ‘हामी छौ’

श्रमाधान साथ देश भित्र र विदेशमा काम गर्ने श्रमिकहरु र उनीहरुका परिवारहरुको मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र साँस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुनेछ ।

कल सेन्टर : ‘समस्याहरुको सम्बोधन तुरुन्तै’

श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो ।

श्रमाधानले श्रमिकको समस्या समाधानको प्रक्रिया

कुनै पनि श्रमिकले श्रमाधानमा विभिन्न माध्यमबाट कल गर्नेछन् । कल सेन्टरले समस्याको वर्गीकरण अभिलेखीकरण, सहजीकरण र स्थान्तरण गर्नेछन् । कल सेन्टरले श्रमिकको समस्याको आधारमा सम्बन्धित निकाय जस्तै, वैदेशिक करोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यवसायिक प्रशिक्षण केन्द्र लगायतका अन्य निकायका फोकल पर्सनसम्म पुराउने छन् ।

पहिलो चरणमा

श्रमाधान योजना क्रमिक रुपमा कार्यान्वयन हुँदै जानेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर हप्ताको सात दिन नै २४ घण्टा उपलब्ध हुनेछ । समस्या समाधानका लागि कल सेन्टरले सम्बन्धित निकायका फोकल पर्सनसम्म पुराउनेछन् । त्यस्तै कल सेन्टरमा मिसकलमा आएको अवस्थामा पनि कल ब्याक गरिनेछ ।

दोस्रो चरणमा

त्यस्तै गरी दोस्रो चरणमा विदेशमा आधारित एसआईपि लाइन, आईभिआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याईनेछ ।

Facebook Comments Box