कोशी प्रदेश: क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई

खेलकुद

बेलबारी (मोरङ) ३ चैत : विराटनगरमा जारी कोसी प्रदेश टी–२० च्याम्पियन सिपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ । त्यसैगरी उपविजेता कर्णाली प्रदेशले रु तीन लाखमा चित्त बुझाएको छ । आज भएको खेलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यसअघि आर्मी क्लब प्रधानमन्त्री कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेस प्रदेशसँग पराजित भएको थियो ।

कोशी प्रदेश ट्रफीको पहिलो संस्करणको उपाधि हात पार्ने क्रममा टस हारेर आर्मीले फिल्डिङको निम्तो पाएको थियो । यस क्रममा कर्णाली प्रदेशले २० ओभरमा अल आउट हुँदै एक सय १० रनको योगफल तयार पारेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाउनुभयो । पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो । दिनेश अधिकारीले १२ रन बनाउनुभयो । कर्णालीलाई धरासायी बनाउने क्रममा आर्मीका त्रितराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान दुई÷दुई विकेट लिनुभयो ।

आर्मीले निर्धारित लक्ष्य १२ दशमलव दुई ओभरमा एक विकेटको नोक्सानीमा पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गर्नुभएको थियो । सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका त्रितराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गर्नुभयो ।

आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ र त्रितराजले ३३ बलमा ५० रन बनाउनुभयो । च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले दुई छक्का र पाँच चौका प्रहार गर्नुभएको थियो । च्याम्पियनसिपमा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ र ‘प्लेयर अफ द फाइनल’को पुरस्कार आर्मीका दासले हासिल गर्नुभयो ।

विजेता टोलीलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । गत फागुन २२ गतेबाट सुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिनुभयो ।
–––

Facebook Comments Box