‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

प्रवास समाचार

अन्नपूर्ण (कास्की), ११ चैत : जर्मनीबाट पोखरा आउनुभएकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी हुनुहुन्थ्यो । उहाँको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिनुभएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो ।

नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “कसैको अनुहार रङ्गविहीन देखेको छैन । यो निकै रमाइलो पल हो,” लुकाले भन्नुभयो, “नेपालमा आएको मैले पहिलोपटक होली खेलेँ । यस्तो माहोलमा रमाइलो गर्न पाउँदा म निकै खुसी छु ।”

लुकासँगै उहाँका साथी पनि रङ्ग खेलिरहनुभएको थियो । नेपालको यो पर्वका बारेमा जर्मनी फर्किएपछि अरू साथीहरुलाई सुनाउने लुकाले बताउनुभयो । “जर्मनी गएपछि रङ्ग खेलेको, नाचेको, रमाएको बारेमा अरू साथीहरुलाई भन्नेछु । सबै सुनेपछि उनीहरु पनि पक्का खुसी हुनेछन्,” लुकाले भन्नुभयो, “समयले साथ दिएसम्म अर्को वर्ष परिवार वा अरू साथीहरुलाई लिएर होली खेल्न नेपाल आउनेछु ।”

उनीसँगै धेरै पर्यटक पोखरा लेकसाइड क्षेत्रमा रङ्गसँग रमाउँदै थिए । लेकसाइड अम्बोटबाट नाचगान गर्दै र रङ्ग दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । पहिलोपटक होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । पोखरा घुम्न आएका पर्यटकलाई रङ्गीन बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो । पर्यटक मात्रै होइन, आज पोखरा लेकसाइड पुगेका सबैको अनुहार रङ्गीन थियो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, होली मनाउनेहरुले भरिभराउ थियो ।

रेवान पोखराले होली खेल्नुअघि अम्बोटदेखि खहरचोकसम्म पञ्चेबाजाको धुनमा पैदलयात्रा गरेको थियो । त्यस्तै तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयो । “हामीले बर्सेनि होलीलाई उत्सवमय बनाउन कार्यक्रम गरिरहेका छौँ । यो पटक ¥यालीसहित अन्य कार्यक्रम गरियो,” अध्यक्ष भट्टराईले भन्नुभयो, “हामीले तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन राखेका थियौँभने होलीका लागि रङ्गको पनि व्यवस्था गरेका थियौँ ।”

सधैँको जस्तै यो पटकको होली कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको अध्यक्ष भट्टराईले बताउनुभयो । “अब बिस्तारै पर्यटकको सिजन पनि सुरु हुँदैछ । पर्यटक धेरै हुने समयमा भएकाले विदेशी पर्यटकहरुले यसलाई बडो गज्जबले मनाए,” अध्यक्ष भट्टराइले भन्नुभयो, “यसले पोखरा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास छ । अब यसलाई ‘ब्रान्डिङ’ गर्न सरकारले पनि सोच्नुपर्छ ।”

होलीमा पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । “पोखरा होलीका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । यसले पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अर्को वर्षमा योभन्दा व्यवस्थित तरिकाले लैजान आवश्यक छ । यसका लागि प्रचारप्रसार गर्न जरुरी छ ।”

होलीलाई व्यस्थित गरी ब्रान्डिङ गर्न आगामी वर्ष योजना बनाएर अघि बढ्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताउनुभयो । “आज पोखराका हरेक क्षेत्रमा होलीको रौनक देखियो यसले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ,” प्रवक्ता तिम्सिनाले भन्नुभयो, “होली मनाउन पोखरा जानुपर्छ है भन्ने सन्देश दिनका लागि आगामी वर्षबाट केही योजना बनाउँछौँ ।” होलीलाई थप व्यवस्थित बनाउन पर्यटन क्षेत्रका सङ्घसंस्थासँग छलफल गरेर आगामी वर्षको योजना तय गरिने उहाँको भनाइ थियो ।

Facebook Comments Box